आदरणीय विद्यार्थी अभिभावक तथा अन्य सम्पूर्ण महानुभावहरु, हाम्रो यो भुटनदेवी माध्यमिक विद्यालय यस क्षेत्रको अग्रणी विद्यालय हो। यो विद्यालयले शिक्षाको राष्ट्रिय उद्देश्य परिपूर्ति गर्न स्थापनाकालदेखि अग्रणी भूमिका खेलेको छ। यस विद्यालयको ६० बर्षे इतिहासमा धेरै जनशक्ति उत्पादन गरी देश विकासमा आफ्नो दरिलो पहिचान  कायम गर्दै आएको कुरा हामी सबैको सामु छर्लङ्ग छ। हाम्रो विगतले हामीलाई सदैव गर्वकासाथ भविष्यका पाइलाहरुलाई मार्गदर्शन गरिरहेका छन्।यो विद्यालयले यस क्षेत्रको मात्रै नभएर देशकै एउटा ऐतिहासिक पहिचान बोकेको जिम्मेवारीबोधका साथ सम्पूर्ण शैक्षिक क्षेत्रको नेतृत्व लिने सम्भावनाका साथ आगामी दिनको अब्बल शिक्षालय बन्ने कार्यदिशा लिएको छ। हामीले शिक्षामा सबैको पहुँच स्थापित गर्दै समयानुकुल, रोजगारमूलक, प्रविधिमा आधारित शिक्षा, समृद्धि हासिल गर्न आवश्यक शिक्षाका सम्पूर्ण आयामहरुलाई आफ्नो लक्ष्य बनाउँदै आफ्ना कार्यक्रमहरु अगाडि बढाई रहेका छौं।  विद्यालयको शिक्षा माध्यमिक तहसम्म (०-१२), प्राविधिक विषयहरू समावेश गरी कार्यक्रमहरु सञ्चालन भएका छन् ।

हालको विद्यालय संरचनामा ०-१२ सम्ममा क्रमश नेपाली माध्यम, अंग्रेजी माध्यम समानान्तर शैक्षिक कार्यक्रम, गुणस्तरीय, प्रविधियुक्त, भरपर्दो  सम्पूर्ण साधनहरूको उपयोग गरी प्रतिस्पर्धी जनशक्ति निर्माणमा अग्रणी भूमिका निभाइरहेको छ। विगत २०६० सालदेखि प्राविधिक शिक्षा आजको आवश्यकता ठानी प्राविधिक धारतर्फ ९-१२ मा Civil Engineering विषयको अध्यापन कार्यक्रम समावेश गरी पठनपाठन भइरहेको सन्दर्भमा यसको उच्चमाग विद्यार्थीहरूको तीव्र दबाबलाई मध्यनजर गर्दै Civil Engineering Diploma ३ वर्षे कोर्स लाई शैक्षिक सत्र २०७६- २०७७ देखि संचालन, २०८० सालमा Pre Diploma in Civil Engineering (Building Construction) र २०८१ देखि Pre Diploma in Early Childhood Development Facilitation (ECDF) कार्यक्रम सम्पूर्ण रुपले संचालन भइसकेको छ। सँगसँगै आजको शिक्षा विज्ञान र प्रविधि शिक्षा भन्ने मान्यता र आवश्यकतालाई मध्यनजर गर्दै यसै शैक्षिक २०७९ बाट कक्षा ११ र १२ मा विज्ञान संकाय पनि सञ्चालन गर्ने योजनाका साथ अगाडि बढिरहेका छौं। शिक्षालाई जीवन उपयोगी रोजगारीमूलक गुणस्तरीय प्रतिस्पर्धी  र समयसापेक्ष बनाउँदै जीवनका आधारभूत मूल्य मान्यतामा आधारित योग्य नागरिक बनाउने सम्पूर्ण उपायहरूको खोजी गर्दै थप शैक्षिक कार्यक्रम अगाडि बढाउँदै लैजाने लक्ष्य लिएका छौं । अन्त्यमा हाम्रा स्रोत साधन पूर्वाधारहरु र सम्भावनाहरूको उच्चतम उपयोग सदुपयोग गरी यस क्षेत्रको शैक्षिक आवश्यकताको नेतृत्व लिँदै समय सुहाउँदो देश विकास र समृद्धिको जग हाल्ने जनशक्ति उत्पादन गर्ने दिशामा यस शैक्षिक संस्थालाई अझ सशक्त प्रभावकारी बनाउँदै अगाडि बढ्न सबैको सहयोग समर्थन र शुभेक्षा को लागि सदैव प्रार्थी रहनेछौं ।